Sunday, 26 June 2016

रिचार्ज कार्ड लिन जान्छु भनी निस्किएकी पोखराकी प्रतिक्षा सोमबारदेखि बेपत्ता ..!

रिचार्ज कार्ड लिन जान्छु भनी निस्किएकी पोखराकी प्रतिक्षा सोमबारदेखि बेपत्ता ..!


पोखरा, ९ आषाढ / सात जना साथिहरु पोखराको श्री कृष्ण भोजनालयमा खाना खान जान्छन । खाना अर्डर गरेर बसिरहेका बेला अकस्मात प्रतिक्षाले आफु रिचार्ज कार्ड किनेर आइहाल्ने भन्दै होटलबाट बाहिरिन्छिन । १५ / २० मिनेट बित्यो साथिहरुले आएको खाना खाएर सके तर रिचार्ज कार्ड लिन गएकी प्रतिक्षा फर्केर आइनन् । साथिहरुले पनि त्यतिबेला सम्म कुनै शंका गर्नै भ्याएनन् जब सम्म प्रतिक्षाले त्यहीं छोडेर गएको ब्याग हेरे- ब्यागमा प्रतिक्षाले आफुले लगाएका घडी, सिक्री सबै त्यहि राखेर गएकी रहिछन ।
कुरा हो गत असार ६ गते सोमबारको । पोखरा १५ सानिपाटनका तोरणबहादुर भुजेलकी १९ बर्षिया छोरी हुन् प्रतीक्षा भुजेल । उनले पोखराकै मुस्तांङचोक स्थित नेशनल बाथ सेन्टरमा ल्याबमा काम गर्दै आइरहेकी थिइन् । त्यसदिन रामबजारमा रक्तदान कार्यक्रम रहेकाले उनी सहित अन्य ६ जना साथीहरु पनि त्यहाँ आएका थिए । बिहानदेखी शुरु भएको उक्त रक्तदान शिविरमा झन्डै  १ बजेतीर कार्यक्रम सकिएपछि उनीहरु महेन्द्रपुल स्थित श्री कृष्ण भोजनालयमा खान खान पुगेका थिए। रिचार्ज कार्ड लिन जान्छु भनेर सोमाबार देखि निस्किएकी प्रतीक्षाको घर परिवार र साथीहरुले आउँछिन की भनेर प्रतीक्षा गरिरहे तर आज बिहिबार ४ दिन बितिसक्दा सम्म पनि प्रतिक्षाको कुनै अत्तोपत्तो छैन ।
पोखरा १८ मनकामना टोल घर भएका मनिक केसी कलेज जाँदा आउँदा संधै प्रतिक्षालाई लिन पुर्याउन जान्थे । उनीहरुको निकटता यति सम्म गहीरो थियो घर परिवारबाट समेत उनीहरु संगै जाँदा आउँदा कुनै रोकावट थिएन । प्रतिक्षा र मनिक एक अर्कालाई मन पाराउथे, असाध्यै माया गर्थे ।
समय बित्दै गयो, केहीदिन देखि प्रेमी मनिकको ब्यबहारमा परिबर्तन पाउन थालिन् प्रतिक्षाले । पछि उनले चाल पाइन् मनिक त अर्कै केटीलाई पो माया गर्न थालेका रहेछन । त्यसपछि प्रतिक्षाले मनिकसंग कुरा गरिन मनिकले उनको कुरा स्वीकार गरे र आगामी दिनमा बिगतका कुरालाई भुल्न आग्रह गरे । मनिकको कुराले छाँगाबाट खसे झैँ भएकी प्रतिक्षाले धेरै सम्झाइन, आफुले भुल्न नसक्ने बताइन् तर मनिकले उनको कुरा सुन्नुको साटो उल्टो धमक्याउन थाले । हुँदाहुँदा मनिककी अहिलेकी नयाँ प्रेमिकाले समेत धम्की दिने र अब मनिकको पछि लागे नराम्रो हुने चेतावनी समेत दिन थालिन् । धम्क्याउने शृंखला त्यतिबेलासम्म जारी रह्यो जतिबेला रामबजारमा आयोजना गरिएको रक्तदान शिविरमा समेत मनिककी अहिलेकी प्रेमिकाले धम्क्याउदै नानाभाँतीका शब्दले गालीगलौज गरिन् । यसरी मानसिक तनाबमा आएकी प्रतिक्षा सहित अन्य स्टाफ साथीहरु शिविरमा कार्यक्रम सकेपछि खाना खान भनि महेन्द्रपुल स्थित होटलमा पुगेका थिए ।
प्रतिक्षा हराएको बिहिबार ४ दिन पुगेको छ । परिवार र आफन्तले खोज्नुसम्म सबै ठाउँ खोजीसकेका छन् तर अहिले सम्म उनको अबस्था थाहा हुन सकेको छैन । प्रतीक्षा हराएको थाहा पाएपछि हामी वडा प्रहरी कार्यालय रामबजार पुग्दा परिवार र आफन्तले भरिएका थिए । बाराही न्यूज डटकमसंग कुरा गर्दै प्रतिक्षाका मामा यम बहादुर जीसीले भान्जीको खोजीकार्य भइरहेको बताउनुभयो । आफन्तले प्रतिक्षाको कतै हत्या गरेर फालेकी भन्ने आशंका व्यक्त गर्न थालेका छन् । हाल प्रेमी मनिकलाई वड़ा प्रहरी कार्यालय रामबजारमा राखी सोधपुछ र अनुशन्धान भइरहेको कास्कीका डिएसपी गजुसिद्दी बज्राचार्यले बताउनुभयो । पहिलो प्राथमिकता प्रतिक्षाको अबस्थाबारे बुझ्न आवश्यक भएको हुँदा उनको खोजीलाई तीब्र पारिएकोले अहिले केहि भन्न नमिल्ने उहाँले बताउनुभयो ।
प्रतिक्षाकी मामा  यम बहादुर जीसी र सानिपाटनका छिमेकी सँगको कुराकानीमा आधारीत । 
साभार: अर्जुन थापा