काठमाडौं,२४ असार ।
बफ ममका पारखीहरु होसियार ! तपाईंले खाने मम कीरा परेको मासुबाट बनाउने गरिएको सरकारी अनुगमनबाट देखिएको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा शुक्रबार गरिएको अनुगमनका क्रममा वधशालाको मासुमा किरै किरा फेला परेको हो ।
अनुगमन टोलीले चन्द्रागिरी नगरपालिकामा पर्ने सतुंगलस्थित मोज मिट सेन्टर र त्यसको वधशाला तथा टेकुस्थित ह्युमन सामुदायिक पशु वधशालाको अनुगमन गरेकामा सबै ठाउँको मासुमा किरा भेटिएको हो ।
वधशालामा राँगा र भैंसीको लादी समेत मासुसँगै राखेको पाइएको छ । लादी, कुहिएर किरा परेका मासु तथा हड्डीका कारण गन्हाएर सहन नसकेपछि अनुगमन टोलीमा संलग्न सदस्यहरु बधशालाबाट तत्कालै वाहिरिए । आपूर्ति मन्त्री पुनले वधशालाको अवस्था कल्पनै गर्न नसकिने रहेको भन्दै कानून अनुसार सील गर्ने र अन्य कारवाही अगाडि बढाउन सँगै रहेका पशु चिकित्सक डा. नारायण घिमिरेलाई निर्देशन दिए ।
काठमाडौ उपत्यकामा संचालित महङ्गा रेष्टुरेण्टदेखि सामान्य मम पसलमा यिनै वधशालाबाट मासु आपूर्ति गर्ने गरिन्छ । बफ मम अत्यधिक रुचाइने परिकार हो । तर धेरै जनताले रुचाउने ममको मुख्य कच्चापदार्थ मासु किरा परेको र फोहोर अवस्थामा फेला परेपछि अनुगमन टोलीले वधशाला संचालकलाई तीन घण्टाभित्र वधशाला सफा राख्न र कुहिएका मासुको व्यवस्थापन गर्न निर्देशन दियो ।
सिल गर्दा वधशालामा रहेको मासु थप कुहिएर आसपासको क्षेत्रमा दुर्गन्ध फैलिइ महामारी फैलिने सम्भावना भएकाले सिल गर्नुको साटो सफा गर्न निर्देशन दिइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अधिकृत लालबहादुर बुढाथोकीले बताए ।
राँगा भैंसी काटिने वधशाला जस्तै माछाको मुख्य बजार पनि दुर्गन्धित देखिएको छ । अनुगमन टोलीले कालिमाटीस्थित माछा बजारमा माछालाई दुर्गन्धित पानीले पखाल्ने गरिएको फेला पारेको छ । कतिपय पसलेले ढल वग्ने स्थलसँगै माछा राखेको पाइएको छ । धन्न माछामा भने किरा परेको भेटिएन । अनुगमन टोलीले माछा पसलेहरुलाई सरसफाइमा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
No comments:
Post a Comment