Wednesday, 12 July 2017

गरे के हुँदैन ईच्छा शक्ति हुनुपर्छ, विदेशबाट फ्रकिएर भाडामा सामुहिक गोलभेडा खेती शुरु ।


रामपुर, पाल्पा
विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् ।

एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएर युवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ ।

विदेशिएका अर्जुन थापा, शेरबहादुर सोती, पूर्णबहादुर पचभैया र विदेशिन लाग्नुभएका किसान सारुले सामूहिक रुपमा जग्गा भाडामा लिएर थालनी व्यवसाय जिल्लामै नमुनाका रुपमा अघिबढेको छ ।

यो व्यवसायका लागि पाल्पा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख ४० हजारका साथै १५ वटा प्लास्टिक टनेल अनुदानमा उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए । सो व्यवसायका लागि जापानी समाजसेवी काजुमासा काकीमी  ले रु तीन लाख सहयोग गरेको व्यवसायी शेरबहादुर सोतीले जानकारी दिए ।

त्यस्तै किसान परियोजना नामक संस्थाले सिमेन्ट पोखरी निर्माणका लागि रु ४५ हजार २०० र दुई वटा प्लास्टिक टनेल उपलब्ध गराएको परियोजनाका कृषि बजार प्राविधिक अशोक गुरुङले बताए । मासिक रुपमा एक बोटमा चार किलो गोलभेँडा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका युवाले आधुनिक प्रविधिबाट सो व्यवसाय गरेका हुन् ।

रामपुरको बजारलाई लक्षित गरी ती चार युवाले गोलभेँडा खेती सुरु गरेका हुन् । आउँदो माघसम्ममा ६४ वटा टनेल निर्माण गरी गोलभेँडाबाट वार्षिक रुपमा रु १० देखि १५ लाखसम्म आम्दानी लिने उनीहरुको सोच छ ।

No comments:

Post a Comment