Sunday, 14 August 2016

इजरायल बाट शरिन ख्युङवाको प्रश्न, के नेपाल सरकारले आफ्नो बुहारी पाल्नै नसकेको हो ?


उद्दारको नाउँमा अन्याय गरिदैछ नेपाल सरकार अनि उद्दारको ढोल पिट्ने प्रहरी देखि समाजसेवीहरुले ।
छोरी बुहारी भनेको स्वदेशी होस् या बिदेशी होस् घरका गहना हुन, लक्ष्मी हुन् भन्ने परम्पराको धज्जी उडाउदै आज बर्षौ देखि उत्पीडनमा परेकी श्रम शोषण सहितको शारीरिक, यौन शोषण मात्रै नभई मानसिक यातनासम्म भोग्नुपरेकी ती बिदेशी फिलिपिनी महिला जोया र उनको कोखिलाका मसिना नाबालक बच्चाहरु आफ्नै भुमिमा संघर्ष गर्न नपाई आज ति बिरुवाहरुलाई आमा सङ्गै उद्दारको नाउँमा देश निकाला गरिरहेको यो दु:खद समाचारले मेरो मात्रै नभै हामी सम्पूर्ण आम नेपालीहरुको शिर झुकेको छ, दुखेको छ मन- मुटु । ति अन्यायमा पारिएकी फिलिपिनी महिलाको दु:खद घटना देखेर मेरो चित्कार सहित निक्लेको आवाजले आज नेपालको कानुन अनि नेपाल सरकारलाई सोध्न मन लाग्यो कि तिमीले बुहारी पाल्न नसकेकै हो त ?
आज बिदेशी महिलाको यो हालत रहेछ हाम्रो देशमा अनि हाम्रै नेपाली समाजले आफ्नै देश भित्र आफ्नै छोरी बुहारी माथी भैरहेको, गरिएको अपराधमा बलात्कारको शिकार किन नबनोस ?? किन दाइजोको कारण नजलाईयोस् र छोरी जन्माएको निहुंमा घरका श्रीमान् सासू ससुराले किन महिला हिंसा नगरोस् ? घरबाट अशक्त मानसिक रोगी भएर निक्लन किन नपरोस ? अनि किन बोक्सीको निहुँमा दिशा पिसाब मात्रै होइन, जिउदै जलाइन्छ गाडिन्छ जमिनमा...तिनका चित्कार सुन्ने कसले ??
नेपालमा इतिहास रच्ने अनि रचाउने धेरै भए, जसमा रास्ट्रपति देखि प्रधानन्यायाधिश लगायत मै हुँ भन्ने महिला नेत्रीहरु धेरै छन् तर सिर्फ गान्धारी भएर बसेका छन् । देखा तमासा भनेर आज तिनै आँखा, कान, मुख बन्द गरि बसेको हाम्रो देशको कानुनले एउटी बिचरी ति लाचार पिडित बिदेशी महिलालाई बुहारी स्विकार्नुको साटो अधिकार बिहिन पारी उनको माइती पठाइनुमा गर्व गर्दैछ र भन्दैछ उद्दार गर्यौ हामीले भनेर....
 ढोल पिट्दैछन समाजसेवीहरु.... यो खबर सुनेर हरेक ति फिलिपिनिहरुको अगाडि मेरो मात्रै होइन, आम सारा नेपाली जनताहरुको नजर झुक्ने भयो लाजसरमले...जिबन थापा भन्ने अपराधीको कारण शिर माथी उठाउन नसक्ने भयौ हामीले.... यो अवस्थालाई बुझ्नुको साटो नेपाल सरकारले कागजको हवाईजहाज उडाई रहेको छ, बुहारी पाल्न नसक्ने म हुतीहारा ससुरा हुँ भनेर ।
एउटा बुहारी पाल्न नसकी बुहारीलाई अधिकार दिनुको साटो घरबार बिहिन पारी माइत पठाउने यो नेपालको कानुनले बिश्वभर के सन्देश दिदैछ ? अधिकार सुम्पि दिई केहि राहतको महसुश दिने बेलामा उल्टै सुन्दैछु फिलिपिन्सको राजदुतावास बाट जरिवाना स्वरुप ७ लाख लिएको छ रे । वावा...गर्ब छ ।नेपाल सरकारले भनेपछि अलिकति इमानदारीता राखेनौ है....त्यो जरिवानालाई उल्टै फिलिपिन्सले उनको चेलीको यतिका बर्ष देखि उनले भोग्दै आएकी श्रमदान, शारीरिक यौन शोषण अनि उनले पाएकी मानसिक यातनाको हिसाब किताब मागेको भए तिमिले तिर्न सक्थ्यौं नेपाल सरकार ??
आज उद्दारको नाउँ गरेर ति बिदेशी फिलिपिनि महिलाको कोखबाट जन्मेका ती मसिना लालाबालालाई तिनको जन्मभुमी नेपालबाट देश निकाला गरि फिलिपिन्स पठाउदा ती मसिना २ बच्चाहरुको अधिकार नेपालको कानुनले खोस्ने अधिकार कसले दियो ?? त्यो बच्चाहरु भोलि युवा भएर नेपाल फर्किन चाहेको खण्डमा नेपाल सरकारले के जवाफ दिन्छु भनेर घरदेखी बेघर गर्दैछ ? ती निर्दोष बच्चाहरुलाई....बुहारी पाल्न नसक्ने सरकार !
यदि अलिकति पनि लाजसरम बाकी रहेको छ भने त्यो जीवन थापा भन्ने अपराधी र तिनका परिवारलाई तुरुन्तै कार्बाही गरि ती फिलिपिनि महिलालाई उनको देश पठाएर नेपालको बद्नाम गर्नु भन्दा उनले पाउने क्षतिपुर्ती दिलाएर नेपाल मै बस्ने अधिकार नेपालको कानुनले दिनुपर्ने हुन्छ, होइन भने भोलि नेपाली भनेर अनुहार देखाउन लाज होला...यो कुरा नेपाल सरकारले तुरुन्तै बुझ्नुपर्छ । उद्दारको नाउँ मा समस्या देखि भाग्न खोज्ने समाजका बिज्ञ भनाउदाहरुले भोलि एक एक सवाल को जवाफ दिनुपर्ने हुन्छ…. उद्दन्डकारी लाई सजाय दिलाएर बुहारी स्विकार्नु नसक्ने त्यो समाजले उद्दारको ढोङ नपिट्दा हुन्छ, भोलि तिम्रा छोरी चेलीबेटी लाई यिनै बिदेशी ले अन्याय गरि तिम्रो घर माइती गलहत्याएर पठाए मान्न तयार हुन्छौ समाजसेवी भनाउंदाहरु....

  विचार-ब्लग 
इजरायलबाट शरिन ख्युङ्वाको प्रश्न ,बुहारी पाल्न नसकेको नै हो नेपाल सरकार ?

No comments:

Post a Comment