Tuesday, 8 November 2016
साउदी अरबमा नेपाली चेलीहरु उद्धारको पर्खाईमा ।
महेश श्रेष्ठ
साउदी अरब/कुवेतबाट बेचिएका र भारत हुँदै साउदी अरब ल्याईएका ५३ जना महिलाहरु नेपाली राजदूतावासमा उद्धारको पर्खाईमा अलपत्र परेर बसेका छन् ।
रियाद स्थित राजदूतावासमा अलपत्र परेर बसेका महिलाहरुमा गर्भवतिदेखि मानसिकस्थिति गुमाएकाहरु र नेपाली राहदानी प्रयोग गरेर साउदी ल्याएर अलपत्र पारिएका भारतीय तीन महिला समेत रहेका छन् । राजदुतावासको भवन कम्पाउण्ड भित्र सामान्य पाल टाँगिएको लगभग २० फिट चौडाई र ३० फिट लम्बाईको भूईं र सानो कोठामा राखिएका उनीहरु मध्ये ६ महिनादेखि त्यही बस्दै आएका र केही भने महिनादिन अघि आएकाहरु रहेका छन् ।
नेपाली दूतावासको शरणमा आईपुगेका सबै जसो महिलाहरुको एउटै कथा व्यथा छ– “मालिकले समयमा तलब नदिई उल्टैै शाररीक र मानसिक यातना दिएका कारण विभिन्न उपाय गरेर भागेर राजदूतावासको शरणमा आईका हौं ।” त्यहाँ रहेका महिलाहरु मध्ये ४२ जनालाई भारतीयभूमि हँुदै साउदी अरब ल्याइएका छन् । त्यसैगरी कुवेतबाट बेचिएर साउदी अरब ल्याईएका ८ जना महिला रहेका छन् । ३ जना महिला भने नेपाली मूलका भारतीय महिला रहेका छन्, उनीहरु नेपाली राहदानीमा भारतीयभूमि बाटै साउदी अरब ल्याइएका हुन् । एक नेपाली महिलाले भने साउदी अरबस्थित एक पोलिक्लिनिकले सम्झौता अवधि समाप्त भईसक्दा पनि घर फर्कन नदिएकाले घर फर्कन दूतावासको शरणमा आएको बताईन् ।
त्यहाँ रहेका कतिपय महिलाहरु आर्थिक अभावका कारण हवाई टिकट किनेर स्वदेश फर्कन नसक्दा उद्धारको पर्खाईमा रहेका छन् । अन्य केही महिलाहरु भने साउदी अरबको कानुनी प्रक्रिया अनुसार फर्कने अनुमति पर्खेर बसेकाहरु रहेका छन् । दूतावासको शरणमा रहेका महिलाहरुमा ५० वर्षकी दुई महिला पाईए पनि २० देखि ३० वर्ष उमेर समूहका बढी रहेका छन् । साउदी सरकारले दिएको आममाफीको अवधिसम्ममा घर फर्कन नपाइएला कि भनेर अधिकाँश महिलाहरु चिन्तित रहेको पाईए पनि एक २१ वर्षे महिला भने राजदूवासमै सुत्केरी हुनु पर्ने पो हो की भन्ने चिन्ताले पिरोल्ली रहेकी थिईन् । जलपाईगुढी जयगाउँ निवासी भारतीय श्रीमान्संगै नेपाली राहदानीमा साउदी अरब आएकी भारतीय ती महिलाको गर्भ रहेको ७ महिना भएको र यथाशिघ्र घर फर्कन पाउँ भनि अनुनयविनय गरिरहेकी थिईन् । ती गर्भवती महिलाका अनुसार भारतीयदूतावासले नेपाली राहदानीबाट आएकाले नेपाली दूतावास जान भनेपछि यहाँ शरणमा आएकी हुन् तर आएको ४५ दिन भईसक्ता पनि घर जान नपाएको उनीले गुनासो गरिन् ।
दूतावासको शरणमा रहेका दुई महिलाको भने मानसिकस्थिति ठिक नभएकाले घर फर्कन पाएका छैनन् । उनीहरुसंगै रहेका महिलाहरुको अनुसार मानसिक रोगीका रुपमा रहेकी मध्ये एक पाल्पाकी विमला परियार नेपाली र अर्की सर्लाही मलंगवा रामपुर भासर–७ की कौसिला सिन्हा रहेकी छिन् । मानसिक अवस्था गुमाएकी नेपालीलाई भने दूतावासले सफर जेलबाट मुक्त गरेर ल्याएको हो ।
दूतावासमा उद्धारको पर्खाईमा रहेका महिलाहरुका सम्बन्धमा राजदूत उदयराज पाण्डेले उनीहरुलाई नभेम्वर ८ पछि क्रमशः उद्धार गरिने जानकारी दिदै सीमित कर्मचारी र थोरै बजेटका कारण समस्या रहेको बताए । राजदूत पाण्डेले आफू कार्यरत् भएको २७ महिनामा ८ सय १० जना महिलाहरुको उद्धार गरेको बताउनुका साथै कुवेतबाट नेपाली चेली भित्राउने कार्यलाई भने कुवेत सरकारको सहयोगमा पूर्णरुपमा बन्देज लगाएको पनि दावी गरे ।
साउदी अरबमा दुःख पाएर नेपाली राजदूतावासको शरणमा आउनेहरुको संख्या मासिक ७० जनाको हारहारीमा रहेको छ तर भारतीयभूमि र कुवेत भएर साउदी अरब भित्राइएका नेपाली महिलाहरुको संख्या कति छ त्यसको तथ्यांक भने राजदुवासमा समेत छैन । साउदी अरबमा घरेलु कामदारका रुपमा ल्याईका कतिपय महिलाहरुलाई कुटपिट, बलत्कार र शरीरमा तात्तो पानी खनाई यातना दिइएका घटनाहरु पाईएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment